प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक हुने, बल्ल टुंगियो निर्वाचनको मिति

मंगलबार, २१ असार २०७९

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै समयमा हुने टुंगो लगाएको छ । आयोग सबै हिसावले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने टुंगोमा पुगेको हो ।

आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी गरेको छ । एक आयुक्तका अनुसार बुधबार दिउसो २ बजेपछि भेटका लागि समय उपलब्ध भएको छ ।

मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० र मंसिर २ मध्ये एक दिन निर्वाचन गर्ने निश्कर्ष निक्लिएको बताइएको छ ।

दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते बुधबार मिति प्रस्ताव गर्ने छलफल भएको थियो । तर मंगलबारको छलफलमा मंसिर २ गते शुक्रबार पनि उपयुक्त हुने मत आएको छ ।

एक आयुक्त भन्छन्, ‘यदि शुक्रबार मतदान गर्ने हो भने शनिबार आराम गर्ने र आइतबारदेखि नियमित काममा जान सकिन्छ भन्ने मत आएको छ । भोलि निर्णय गरेर सिफारिस गर्छौं ।’

कात्तिक ३० वा मंसिर २ जुन मिति सिफारिस गरेपनि चुनाव भने एकै चरणमा गर्ने आयोगको निष्कर्ष छ । २०७४ मा भने दुई चरणमा चुनाव भएको थियो ।