अर्थमन्त्रलयमा के भएको थियो जेठ १४ गते राती ? प्रचण्डकै मुखबाट सुन्नुपर्यो अर्को रहस्य

बिहिबार, २३ असार २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले सीसीटीभी फुटेजबारे अर्को रहस्य खोलेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिन पर्नुको कारणबारे बोल्दै प्रचण्डले यस्तो रहस्य खोलेका हुन् ।

राजीनामा दिनपर्ने अबस्थाबारे केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै उनले जनार्दन शर्माले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताए ।

उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठ्यारो पार्ने षड्यन्त्र भएको उनको भनाई छ । सोही षडयन्त्रलाई चिर्न पनि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गरेको बताए ।

‘राजीनामाले एउटा सन्देश गएको छ । यसबाट नैतिकता, त्याग र वैधानिक तरिकाले प्रश्नको समाधान गर्नेबारे आम कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित भएको छ’, प्रचण्डले भने, ‘राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने, सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने तथा माओवादीलाई नै पनि अप्ठ्यारोमा पार्ने डिजाइन देख्यौँ । हामीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट जवाफ दिएका छौँ ।’

प्रचण्डले प्रश्न उठेपछि त्यसलाई महत्त्व दिँदै छानबिनमा सघाएको बताए । तर, माओवादीको राजनीतिक लोकप्रियतालाई कमजोर पार्ने प्रयासका रुपमा विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भएको प्रचण्डको भनाइ छ ।

आफूले केहीअघि एसपीपीमा एमाले अध्यक्ष केपी ओलीको योजनालाई छताछुल्ल पारिदिएपछि त्यो विषयलाई अन्यत्र मोड्न अर्थमन्त्रीको विषयलाई उचाल्ने काम एमालेले गरेको पनि प्रचण्डले बैठकमा बताएको एक नेताले बताए ।

‘राष्ट्रिय स्वाधीनताको विषयमा सत्य के हो भन्ने बारेमा हामीले नै उजागर गरेका हौँ । रितबहादुर खड्काको स्मृति दिवसको दिन कसले एमसपीपी अघि बढ्यो भनेर पहिलो पटक सार्वजनिक मैले गरेका हुँ, उनले भने, ‘एमालेले प्रमाणित गर्न चुनौती पनि दिएको थियो । त्यसको केही घण्टापछि प्रमाणसहित पत्र प्राप्त भयो ।’

बजेटका सन्दर्भमा परिस्थितिलाई राजनीतिक कोण दिने काम भएको उल्लेख गर्दै प्रचण्डले आफूले केही गल्ती नगरेको भनेर अर्थमन्त्रीले भनिरहेको पनि बताए । ‘क्याबिनेट, सदन र पार्टी बैठकमा पनि गल्ती गरेको छैन भनेर भन्नुभएको थियो । मसँग अलग्गै कुरा गर्दा पनि गल्ती भएको छैन, यसमा दृढ छु भन्नुभएकै हो । प्रम र हामीहरू स्वयम् अर्थमन्त्री र कानुन बसेर यो विषयलाई उठाउन खोजिन्छ भने राजनीति हाम्रो हातमा राखिराख्नका लागि पनि छानबिन गर्नुपर्छ भनेर हामीले छानबिन समिति बनाउन सहमति जनाएका हौँ’, प्रचण्डले भने, ‘हिजो अनेक चुनौतीसँग लडेका हामीले सबैभन्दा नैतिकता प्रदर्शन गरेका छौँ ।’ छानबिन प्रक्रियाबाट जे आउँछ त्यही आधारमा अघि बढ्ने पनि प्रचण्डले बताएको ती नेताको भनाइ छ ।

छानबिनलाई सहज बनाउनका लागि अर्थमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ भनेर राजीनामा आएको पनि प्रचण्डले दोहोर्याए । ‘यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन । छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर राजीनामा दिनुभएको हो । राजीनामाले एउटा सन्देश गएको छ’, प्रचण्डले भने ।