काठमाडौँमा बाइक/स्कुटर चलाउँदै हुनुहुन्छ ? ट्राफिक प्रहरीले ल्याएकाे नयाँ नियमबारे थाहा पाइराख्नुहोस्
काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी चलाउनेहरुका लागि नयाँ खबर छ । सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडा नियम ल्याएको छ ।
दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं ।” उनले भने ।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक रु। पाँचसय, दोस्रो पटक रू। एक हजार र तेस्रो पटक पछि रू। एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । यस आ।व। मा १२,८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ ।
ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिमानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।