अन्तरघाती नेतामाथि माओवादीले चाल्यो कठोर कदम, तल्ला कमिटीसम्म खैलाबैला

शनिबार, २५ असार २०७९

काठमाडौँ – नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको बिषयलाई लिएर निर्मम बन्ने संकेत गरेको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्दै अन्तरघात गरेको पुस्टि भए हदैसम्मको कारवाही गर्ने भन्दै निर्मम बन्ने संकेत गरेको हो।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गरि आबस्यक कारवाही गर्न अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको विषय उठाएकाले छानबिन समिति गठन गरिएको जानकारी दिए। छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन्।

त्यस्तै, बैठकले पछिल्लो समय विद्यार्थी तहमा पैदा भएको असहजता समाधानका लागिसमेत तीन सदस्यीय सुझाव समिति गठन गरेको छ। सुझाव समितिमा पूर्वविद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका महराले जानकारी दिए।

बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नका लागि प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समितिसमेत बनाएको छ। आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताए। बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, भदौ १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको जानकारी दिए। उनले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने बताए।