वैवाहिक अंगीकृत नागरिकताको सवालमा गृहमन्त्रीले दिए यस्तो स्पष्टिकरण
काठमाडौं— गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अंगीकृत नागरिकताको सवालमा अहिलेपनि सहमति जुटाउने प्रयत्न भइरहेको स्पष्टिकरण दिएका छन्। राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संसोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले वैवाहिक अंगीकृत नागरिकताको विषयमा सहमति जुटाउन अहिलेपनि प्रयास भइरहेको बताएका हुन्।
‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा सहमति हुन सकेन। असहमतिका बाबजुत २२ महिनापछि संसदमा प्रतिवेदन पेश गरियो। यसमा सहमति जुटाउने प्रयत्न भइरहेको छ।’ उनले भने, ‘प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेश ल्यायो। अध्यादेशमा वैवाहिक अंगीकृतबारे बोलिएको थिएन। सर्वोच्च अदालतले नरोक्दासम्म केहिले नागरिकता प्राप्त गर्नुभयो। सर्वोच्चले अध्यादेश रोकेपछि फेरि यो प्रक्रिया अघि बढेको हो।’
उनले लाखौं युवाहरुले नागरिकता नपाएको दाबी गरे। खाँणले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाउन खोजेको होइन। व्यवस्थित ढंगले नागरिकता दिन खोजेको हो। ’
राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।