प्रचण्डका सपना पनि कस्ता-कस्ता, आजै सुनाए अजिवको सपना !

शनिबार, १४ साउन २०७९

काठमाडौँ – नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अजिवको सपना देख्न थालेका छन् । शनिवार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरी एकपटक देशको नेतृत्व गर्ने सपना देखेका हुन् ।

उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफुले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने र देशको विकास र समृद्धिका लागि देखेको सपना पुरा गर्ने रहेको बताए छन् । उनले आफ्नो लास्ट इनिङ्स पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताएका छन् ।

उनले भने, प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तीमा पनि लेट मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली काँग्रेसका नेताहरूलाई भनेको छु ।

अहिले पहिलो पार्टी त तपाईंहरू नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु । यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ । यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन । त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ्स होस् । यो लास्ट इनिङ्स पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

उनले दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए । अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा।बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी (माओवादी केन्द्र)  मात्रै रहेको जिकिर गरे । उनले भने, ‘माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरू माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाब नै भएन ।’

उनले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले देशको राजनीतिक मानचित्र बदल्न सक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरूले राजनीतिमा बुढापाकाहरू चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए । उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे । उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरीहेरी टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।