नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, कल गर्दा निकै सस्तो पर्ने
काठमाडौँ – नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न ‘इन्डिया भ्वाइस प्याक’ सेवा सुचारु गरेको छ । टेलिकमले भदौ १ गतेदेखि लागु हुनेगरी सो प्याक सुरु गरेको हो ।
यो प्याकेज अन्तर्गत दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ नेपाल टेलिकमले जनाएको छ । डेली अफर अन्तर्गत ५९ रुपैयाँमा २४ घण्टाभित्र १७ मिनेट, विक्ली अफर अन्तर्गत २ सय ५९ रुपैयाँमा ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ७ सय ५९ रुपैयाँमा ३० दिनसम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने नेपाल टेलिकमका सहप्रबक्ता रन्जित लोहियाले बताए ।
एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने कम्पनीले जनाएका छ । यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिनेछ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।