सिट बाँडफाँटमा गठबन्धनभित्र असहमति छैनः प्रचण्ड

शुक्रबार, १७ भाद्र २०७९

 

काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गरेका छन् ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताएका हुन । उनले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताए । उनले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताए । अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताए । उनले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताए ।

उनले भने ‘गठबन्धनमा हामी सिट संख्या करिव सहमतिको नजिक पु¥याएर एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम गरिँदैछ । आज दिनभरको काम सकिएपछि भोलि बैठक बसेर हामीले क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर हामी हिजो उठेका छौँ । चुनावका लागि हामी भेला, सामान्य बैठक गरेर अघि बढेका छौँ । हिजो हामी सहमतिको निकट पुगेका छौँ । गठबन्धन भित्र असहमतिको कुनै स्थिति छैन । त्यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर मात्रै छलफल केन्द्रित छ । हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश जुन छन, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । हामीले उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ ।’

अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफनो उम्मेदवारी रहने स्पष्ट पारे । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गरे । उनले भने, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लडदैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो ।’

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाए । उनले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताए ।

उनले भने, ‘कर्णाली प्रदेश माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक संघमा पनि र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने चाहन्छौँ । कर्णालीमा सन्तुलित तालमेल रहन्छ । आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति पनि र गठबन्धनलाई जारी राख्ने स्थिति पनि माओवादीले गर्छ ।’

अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे ।