बल्ल साइजमा आए गगन !

आइतबार, १९ भाद्र २०७९

काठमाडौँ – सत्तारुढ गठबन्धन भाड्न कस्सिएर लागेका नेपाली कांग्रेसमा महामन्त्री गगन थापा बल्ल साइजमा आएका छन् । गठबन्धन गर्नका लागि एक सय सिट कांग्रेसका लागि छोड्न पर्ने अडान राखेका थापा प्रधानमन्त्री शेरबहादुर देउवाको एक निर्देशन पछि साइजमा आएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनलाई हराएर २०७४ को आम निर्वाचनमा काठमाडौ ४ बाट निर्वाचित भएका गगन यो पटक पनि एक्लाएक्लै चुनावमा जान पर्ने बताउँदै आएका थिए । देउवाले गठबन्धन कार्यदलको सदस्यमा थापालाई राखेपछि गठबन्धन भाँड्न एक सय सिट दावि गरेका थिए ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर देउवा गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएपछि थापा साइजमा आएका हुन् । । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, प्रवक्ता महत, नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए ।

महतका अनुसार आज बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन देउवाको निर्देशन थियो । देउवाको भनाइ उदृत गर्दै महतले भने, ‘मोटामोटी कति फेग्जिबल हुने भन्ने छ । गठबन्धनको नेतृत्वकर्ता हो हामी । हामी फेग्जिबल हुनुपर्छ । अरु दललाई पनि फेग्जिबल हुन आग्रह गर्नुपर्छ।’

गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन थियो । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न देउवाले भने । ‘गठबन्धनले चुनाव जित्ने गरि सिट बाँडफाँट गरौँ । उनीहरू चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौँ’, देउवाको भनाइ थियो । गठबन्धनमा काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ ।

यसमा सबै दल लचिलो भएर सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलमा छलफल भइरहेको छ । काँग्रेसले ८५–९०, माओवादीले ४५–५०, जसपा र लोसपाले १२–१५ सिटमा लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका नेताहरू बताउँछन् ।