भन्सार शुल्क नलिन व्यवसायीहरुले गरे सरकारसँग माग

आइतबार, २६ भाद्र २०७९

काठमाडौं—फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन ।

काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन । फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरु भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व्यवसायीहरुले गरेका छन । एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गरे । उनले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उनको भनाइ छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरै भन्दा धेरै रोजगारी सिर्जना हुने उनले बताए।

उनले भने – ‘सुविधाको खाँचो छ । कुनैपनि उद्योगलाई टिकाउनको लागि जति कच्चा पदार्थहरु आयात गर्छौ त्यसमा करको दर वृद्धि भएको छ । त्यसमा सुधार्न अति आवश्यक छ । करको दायरालाई घटायो भने फर्निचर व्यवसाय, फर्निसिङ व्यवसायलाई अझ फराकिलो गर्न सकिन्छ । यो व्यवसायले रोजगार पनि सिर्जना गर्छ । स्वदेशमै रोजगारी दिनसक्छौँ । सरकारको उद्योगप्रतिको नितिमा सुधार गर्नुपर्छ । जतिपनि उद्योग छन, कच्चा पदार्थ भारत लगायत अन्य देशमा आउँछ । कच्चा पदार्थलाई तयारी वस्तु जस्तै भन्सार लिनेगर्छ सरकारले । बिना कुनै शुल्क कच्चा पदार्थ आयात हुन दिए लागत मूल्य घटछ । नत्र विदेशबाट आएकोसँग प्रतिष्पर्धा गर्न सकिँदैन ।’

त्यस्तै युनाइटेड फम एण्ड मेट्रेस इण्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरु विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरुलाई टेण्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताए । उनले नेपालकै फर्निचर तथा फर्निसिङ सामग्रीहरुलाई प्रयोग गर्ने चलन बढेको बताए । उनले भने– ‘काठका सामानहरु विदेशबाट ल्याउनुपरेको छ । भारत, पाकिस्तान, बंगलादेशबाट । सरकारले फर्निचरवालाहरुलाई टेण्डरमा गराएर यहीँको प्रयोग गर्न पाउनुपर्छ । विदेशीलाई भन्दा नेपालकै सामानलाई बढी प्रयोग गरिरहेको अवस्था छ अहिले । हामी व्यवसायीले पनि नेपालमै बनेको सामानलाई प्रयोग गरिरहेका छौँ ।’

त्यसैगरी व्यवसायी द्रोण न्यौपानेले नेपालमा विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादन नै बढी बिक्री भइरहेको बताए । स्वदेशी फर्निचर तथा फर्निसिङप्रति नेपालीहरुको विश्वास बढदै गइरहेको उनको भनाई छ ।

भृकुटीमण्डपमा जारी प्रदर्शनी भदौ २७ गतेसम्म चल्ने जनाइएको छ । फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा अवलोकन कर्ताहरुको भीड लागेको छ । प्रदर्शनीमा सोचे भन्दापनि धेरै अवलोकन कर्ताहरुले अवलोकन गरेको उनीहरुको भनाइ छ ।