आवश्यक बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग हुन सकेन
काठमाडौं—नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको गुनासो पटकपटक गरे । महामारीको रूपमा फैलिएको डेंगुको संक्रमणको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्दे उनले यस्तो भनेका हुन।
डेंगुका कारण नागरिकको मृत्यु हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरसफाइको काम समेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘कोरोनापछि डेंगु रोगले जनता एकदमै पीडित छन् । अस्पतालमा शैयाको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रूपमा फैलिँदै छ । र, स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन । यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु । जनताको मृत्यु भइरहेको छ डेंगुको कारण । यो सामान्य रोग हो । सरसफाइ भइदिएको खण्डमा यो रोगबाट जनताको मृत्यु नहुने पर्ने हो तर सरसफाइ पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो ।’