आरजुको प्रधानमन्त्री बन्ने सपना देउवाले पारिदिए चकनाचुर

सोमबार, ३ असोज २०७९

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राणालाई आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनाएपछि उनको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको हो ।

नेपाली कांग्रेसको समानुपातिक लिष्टमा प्रधानमन्त्री देउवाले आरजुको नाम राखेका हुन् । आगामी निर्वाचन पश्चात प्रधानमन्त्री बन्ने भन्दै भारतमा लगातार धाइरहेकी राणालाई देउवाले समानुपातिमा थन्क्याएर उनको सपना चकनाचुर पारिदिएका हुन् ।

प्रधानमन्त्री बन्नका लागि १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै एकबाट निर्वाचित भएको हुनपर्ने संबैधानिक प्रावधान रहेको छ । उनी समानुपातिक लिष्टमा परेपछि निर्वाचित भए उपप्रधानमन्त्री सम्म बन्न सक्नेछन् ।

कांग्रेसकी केन्द्रीय सदस्य तथा देउवाकी धर्मपत्नी राणालाई देउवाकै बलमा समानुपातिक उम्मेदवार बनाइएको हो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिदै कांग्रेस पदाधिकारीहरुले प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिदिएका हुन् ।

२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् ।

क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।