समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छः प्रचण्ड

सोमबार, ३ असोज २०७९

काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम भएको बताएका छन । सोलुखुम्बुको थुलुङदुधकोसी गाउँपालिकामा निर्मित थुलुङ दुधकोसी सामुदायिक अस्पतालको उद्घाटन गर्ने क्रममा उनले भने, ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो ।’

अध्यक्षले पाँच वर्ष अगाडिसम्म विकासका पुर्वाधार नभएको ठाउँमा स्थानीय तह बनिसकेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य र विद्युतिकरणको थालनी भएको बताउदै माओवादी केन्द्रको सपना पुरा हुने क्रममा रहेको बताए । संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको उनको भनाई थियो। अध्यक्ष प्रचण्डले सबै जाति धर्म लिङ्ग समुदायका मानिसहरुलाई अधिकार दिलाउँदै गाउँगाउँमा विकास निर्माणको गर्दै समाजवादको यात्रामा धेरै गर्न बाँकी रहेको बताए ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथाको जिल्ला सोलुमा केन्द्र, स्थानीय तह र जनताको सहकार्य एंव सहयोगमा अस्पताल निर्माण, शिक्षालय निर्माण गरेर देशैभर सन्देश दिएको उल्लेख गरे ।

सो क्रममा अध्यक्षले दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिका प्रशासनिक भवन, थुलुंग दुधकोशी बहुप्राविधिक शिक्षालय भवन उद्घाटन गरेका थिए।