होटल म्यारियटमा लुकेर मानव तस्करी गर्दै चार जना भारतीय नागरिक

शनिबार, ३२ असार २०७९

काठमाडौँ – काठमाडौँको होटल म्यारियटमा बसेर चार जना भारतीय नागरिकले मानव तस्करीको काम गर्दै गरेको खुलासा भएको छ । होटल म्यारियटमा भारतीय नागरिक सुनिल कुमार एस, संगिता एस, फिरोज सेठ र कृष्ण अग्रवालले मानव तस्करीको धन्दा चलाएको खुलासा भएको हो ।

उनीहरुले नेपाली विद्यार्थीहरुलाई बेलायत पठाउने भन्दै होटलको कोठामा बोलाएर फकाइरहेका छन् । बेलायतको पोर्ट्समाउथ विश्वविद्यालय र भारत चेन्नईको एडव्वाईले अबैध धन्दा चलाएका हुन् । टिम लिडर सुनिल कुमार एसले आज बेलुवा लन्च पार्टीको आयोजना गर्दै एजेण्ट सम्झौता गर्ने, विद्यार्थीलाई विभिन्न प्रलोभन देखाउने र औपचारिक कार्यक्रम समेत राखेका छन् । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा परेको उजुरी अनुसार आज बेलुका ६ बजेदेखि राती १० बजेसम्म उक्त कार्यक्रम राखिएको छ ।

उक्त उजुरीमा यो कार्यक्रमले नेपाली विद्यार्थीमात्र होइन शैक्षिक परामर्श व्यवसायीलाई पनि ठग्ने बताइएको छ । यता रणनीतिक साझेदारी बन्ने भन्दै शैक्षिक परामर्श व्यवसायीलाई भुलाउने र उता एक एक गर्दै नेपाली विद्यार्थीहरुलाई फसाउने षड्यन्त्र गरिरहेको होटल स्रोतले जनाएको छ । यसमा केही नेपाली शैक्षिक कन्सल्टेन्सीहरुको भूमिका पनि रहेको बुझिएको छ ।

गैरकानुनी कार्यक्रम स्थगित गरिपाउँ भन्दै परेको उजुरीमा नेपाल सरकार, शिक्षा मन्त्रालय मार्फत तोकिएको शाखाबाट कानुन अनुसार कुनै पनि प्रकारको पूर्वस्वीकति नलिई आयोजना गर्न लागिएको बताइएको छ । उजुरीमा भनिएको छ, ‘त्यस कार्यक्रमले नेपाली शिक्षा क्षेत्रको आवश्यक कानुनी परम्परालाई धज्जी उडाएको मात्रै छैन कि नेपाली शिक्षामा अनावश्यक विदेशी हस्तक्षेपको नाङ्गो प्रदर्शन समेत पटाक्षेप भएकोले उक्त गैरकानुनी कार्यक्रम तत्काल स्थगित गरिदिनुहुन अनुरोध छ ।’

होटलले बताए अनुसार श्रीषा नाम गरेकी महिलाले कोठा बुक गराएकी छन् । ‘श्रीषाको नाममा आज बेलुका ६ बजे २ सय ५० जनाको लागि अर्डर भएको छ ।’, होटल स्रोतले भन्यो, ‘रुममा बसेकाहरुको नाम अर्कै छ । उहाँहरु इण्डियाबाट आउनु भएको हो ।’

शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख र्इश्वरीप्रसाद ज्ञवालीले आज बेलुका गर्न लागेको कार्यक्रम अबैध भएको जनाएका छन् । कुनै पनि शैक्षिक कार्यक्रम गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान विपरीत उक्त कार्यक्रमको आयोजना गरिएकाले कार्यक्रम हुन नदिने उनको भनाइ छ । ज्ञवालीले यो कार्यक्रम जसरी पनि रोक्ने बताए । ‘घटना घट्नभन्दा पहिला नै हामी सचेत हुनुपर्छ । विद्यार्थीलाई ठगेर भाग्यो भने यसको जिम्मा कसले लिन्छ ।’, मोटिभेट न्यूजसँग उनले भने, ‘यिनीहरुले राम्रो विश्वविद्यालय आफूसँग भएको भन्दै पैसा र डकुमेन्ट लिएर जान्छन् । पछि विद्यार्थी गन्तव्यमा पुगेन भने कसले जिम्मा लिन्छ । पैसा उठाएर भाग्न नियत देखिएकाले यो कार्यक्रम रोक्न आग्रह गरेको छु ।’

उनले शाखाबाट अनुमति नलिएर कार्यक्रम आयोजना गरेकाले यो कार्यक्रम हुन नदिने वचन दिए । ‘शाखामा उजुरी परेपछि मैले कार्यक्रम हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पनि भनिसकेको छु । सीडिओ सापले बन्द गराउन प्रहरी पठाउँछु भन्नु भएको छ ।’, उनले भने, ‘नेपालमा जे पनि गर्न पाइन्छ भन्ने सोचले भारतीयहरुले मनलाग्दी गरेका छन् । यसलाई जसरी पनि रोक्न पर्छ ।’

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले गैरकानुनी रुपमा कसैले पनि शैक्षिक कार्यक्रमहरु गर्न नहुने बताए । ‘मलाई आजको कार्यक्रमको बारेमा जानकारी छैन । मेट्सको इमेलमा गलत कार्यक्रमबारेको इमेल पठाउन डराउँछन् ।’ मोटिभेटसँगको कुराकानीमा उनले भने, ‘तपाईँले भनेपछि जानकारी पाएँ । यसलाई रोक्ने प्रयास गर्ने छु ।’