चुनावी प्रचार प्रसारमा प्रयोग गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीमा तोडफोड

आइतबार, २७ कार्तिक २०७९

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।

घटना लगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्‍यालीमा रहेको बताए । उनले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।

उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् ।

स्वतन्त्र पार्टीले आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी,भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको दाबी गरेको छ ।