सिड्नी सिटी कलेजको ‘चोरी काम’ले विद्यार्थी मर्कामा

बिहिबार, १५ मंसिर २०७९

काठमाडौँ – अस्ट्रेलियाको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टको ‘चोरी काम’ले विद्यार्थी मर्कामा परेका छन् । कलेजले आफ्ना व्यवसायीक साँझेदार एजेन्सीहरुलाई जानकारी नदिई चोर बाटोबाट भर्ना शुल्क बढाएपछि विद्यार्थी मर्कामा परेका हुन् ।

२०२२ को फेब्रुवरीसम्म यो कलेजले विद्यार्थीबाट २५० अस्ट्रेलियन डलर भर्ना शुल्क उठाउने गथ्र्यो । कलेजले २०२२ कै ‘मे’ मा उक्त शुल्क बढाएर ५०० डलर पुर्यायो । आन्तरिक रुपमा कलेजले गरेको यो निर्णय शैक्षिक परामर्श व्यवसायीलाई आधिकारिक रुपमा अहिलेसम्म पनि जानकारी गराइएको छैन ।

व्यवसायीले विद्यार्थीहरुलाई परामर्श गर्दा सिड्नी सिटी कलेजमा २५० डलर भर्ना शुल्क लाग्ने बताउँदै आएका छन् । ‘भिसा लाग्दा त खास्सै यो विषयमा विद्यार्थीले पनि चासो दिएनन्, हामीलाई पनि जानकारी भएन ।’, एक शैक्षिक परामर्श व्यवसायीले मोटिभेट न्यूजसँग भने, ‘अहिले विद्यार्थीको भिसा लागेन । धेरैले डकुमेन्ट पुर्याउन नसक्दा भिसा आवेदन फिर्ता गरे । त्यस्ता विद्यार्थीले ट्युसन फि फिर्ता माग्दा कलेजले ५०० डलर काटेर पठायो । यो कलेजको चोरी काम हो ।’

कलेजले भर्ना शुल्क ५०० डलर काटेपछि विद्यार्थी मर्कामा परेको एक अर्का व्यवसायीको भनाई छ । ‘मैले काउन्सिलिङ गर्दा सिड्नी सिटी कलेजले २५० डलर भर्ना शुल्क लिन्छ भनेको थिएँ । तर कलेजले ५०० डलर काटेपछि विद्यार्थीले मलाई पैसा ठगेको आरोप लगाए ।’, नाम उल्लेख नगर्ने सर्तमा ती ब्यवसायीले भने, ‘समयमै कलेजले भर्ना शुल्क बढेको जानकारी नगराउँदा विद्यार्थीको पैसा काटियो, हामी ब्यवसायीलाई विद्यार्थीले ठगको आरोप लगाए । समयमै एउटा इमेल गरेर जानकारी गराएको भए हामी विद्यार्थीलाई त्यही अनुसार जानकारी दिन्यौं ।’

कलेजले आफूहरुले एजेण्टहरुलाई समयमै खबर नगर्नु गल्ति भएको जनाएको छ । ‘अस्ट्रेलियाको कानुन अनुसार ५ सय डलर भर्ना शुल्क लाग्छ । त्यही कानुन अनुसार कलेजले पनि आफ्नो पोलिसी परिवर्तन गरेको हो ।’, कलेजकी संचालक रन्जु वाग्लेले भनिन्, ‘कलेजले जारी गरेको अफर लेटरमा बकाइदा ५०० सडर उल्लेख छ । एजेण्ट र विद्यार्थीले अफर लेटर अध्ययन नगर्दा समस्या आएको जस्तो देखिएको हो । हामीले एउटा इमेल गरेर एजेण्टलाई जानकारी गराउन पर्ने थियो । पोलिसी परिवर्तन भएको जानकारी नगराउनु हाम्रो पनि गल्ती हो ।’

वाग्लेले जनवरीमा अफर लेटर आएर फेब्रुवरीमा भिसा लगाउन नसकेका विद्यार्थीहरुको २५० डलर नै काट्ने बताइन् । ‘हाम्रो पोलिसी चेन्ज हुन भन्दा पहिला अफर लेटर लिएका तर ‘मे’ मा अर्को अफर लेटर लिएर ट्युसन फि जम्मा गरेका विद्यार्थीको २५० नै काटिने छ । यदी त्यस्ता विद्यार्थीको ५०० सय डलर काटेको छ भने त्यो हामी फिर्ता गरिदिन्छौं ।’, वाग्लेले मोटिभेट न्यूजसँगको भर्जुअल सम्बादमा भनिन्, ‘तर त्यसका लागि स–प्रमाण इमेल आएको हुनपर्यो ।’

कलेजले भिसा आवेदन दिएका ४ सय बढी नेपाली विद्यार्थीको ट्युसन फि फिर्ता गरेको छ । यसरी विद्यार्थीको ट्युसन फि फिर्ता हुँदा पनि कलेजले २ लाख अस्ट्रेलियन डलर आम्दानी गरेको छ ।