समानुपातिक सांसदको नामावलीमाथि छानबिन सुरु

आइतबार, २५ मंसिर २०७९

काठमाडौं – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूचीमा निर्वाचन आयोगले छानविन सुरु गरेको छ । आयोगले दिएको समयभित्र दलहरुले शनिबार बेलुका नामावली बुझाएका थिए । सो नामावली समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार मिले नमिलेको बारेमा आयोगले छानविन थालेको हो ।

आयोगले नाम सच्याएर बुझाउन आयोगलाई आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए/नभएको छानबिन गरिने छ ।

समानुपातिक सिद्धान्त अनुसार भए/नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने छ । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।