इमान्दारीताको पुरस्कार

शुक्रबार, १ पौस २०७९

काठमाडौं – एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिर हेर्नको लागि जान्छ । मन्दिर परिसरमा देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकार भेट्छ । मूर्ति बनाँउदै गरिरहेको हेरिरहँदा आकस्मात उसको नजर मूर्तिकार भन्दा केहि मिटरमात्र पर रहेको मूर्तिमा पर्दछ, जुन मूर्तिकारले अहिले बनाई राखेको मूर्तिसँग हुबहु मिलेको छ ।

यो देखेर आश्चर्यचकित हुदै त्यो मान्छेले मूर्तिकारलाई सोध्छ, ‘के तपाईँलाई एउटै देवताको दुईओटा मूर्ति बनाउन भनिएको हो छ र ?’ मूतिकारले जवाफ दिए, ‘अहँ छैन । वास्तवमा मैले एउटा मात्र मूर्ति बनाउनु पर्ने हो तर त्यो पहिलो मूर्तिको लगभग अन्तिम समयमा केहि कोरिन पुग्यो । त्यसैले अर्को मूर्ति बनाउन थालेको हुँ ।’

मूर्तिकारको जवाफ सुने पछि त्यो मान्छेले पहिलेको मूर्तिलाई राम्ररी हेर्न थाल्यो । धेरैबेर सम्म हेरे पछि पनि उस्ले उक्त मूर्तिमा बिग्रिएको नदेखे पछि मूर्तिकारलाई फेरी सोधे, ‘होइन यहाँ त कहीँ पनि कोरिएको देखिँदैन नि ?’

‘मूर्तिको नाकतिर केहि कोरिएको छ ।’, मूर्तिकारले जवाफ दियो । ‘यो मूर्ति कहाँ निर राख्न गईरहेको छौ नि ?’ त्यो मान्छेले अर्को प्रश्न गर्यो ।

‘यो मूर्तिलाई २० फिट उचाईको खम्बामाथि राखिने छ ।’, मूर्तिकारले जवाफ दियो । आश्चर्य चकित हुदै त्यो मान्छेले फेरी आफ्नो जिज्ञासा राख्यो, ‘यो मूर्तिलाई २० फिटको उचाईमा राखिदै छ भने मूर्तिको नाकमा रहेको सानो कोट्याईलाई कस्ले पो देख्छ सक्छ र ?’

त्यो मान्छेको जिज्ञासालाई सुनेपछि मूर्तिकारले उसलाई एकचोटी हेरे र मुस्कुराउँदै भन्न थाले, ‘भगवानले देख्छन् र मैले देख्छु।’ मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छे त्यहाँबाट छुट्टियो ।

त्यसको केही दिन पछि विशेष पुजा गरेर मूर्ति अनावरण गर्ने कार्यक्रम राखियो । उक्त कार्यक्रममा राजासमेत उपस्थित भए । मूर्ति अनावरण कार्यक्रममा राजाले सबैलाई आश्चर्य पार्दै त्यही मूर्तिकारलाई मन्दिरको पुजारी बनाउने निर्णय सुनाए । मूर्तिकार दलित समूदायको भएकाले धेरैले विरोध गरे ।

विरोधीहरुलाई सान्त पार्दै राजाले भने, ‘उ इमान्दार छ । उ आफ्नो कर्ममा विश्वास गर्छ । भगवानको मूर्ति उसले बनाएको हो । त्यही मूर्तिलाई भगवान मानेर पुजा गर्न जातले रोक्दैन ।’

मूर्तिकारले मूर्ति बनाउँदै गर्दा सोधपुछ गर्ने तिनै राजा थिए । छट्के अनुगमनमा आएका राजाले उसको इमानदारिताको पुरस्कार पुजारी बनाएर दिए ।