महानगरको गाडी सर्वसाधारणको नियन्त्रणमा

आइतबार, ३ पौस २०७९

काठमाडौं— अनामनगरमा काठमाडों महानगरले पार्किङका सवारी उठाएपछि सर्वसाधारणले चार घण्टा महानगरको गाडी नियन्त्रणमा लिएका छन् ।

आइतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमतिविपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए ।

स्थानीयले महानगरले निजी सम्पत्तिको प्रयोग गर्न पाउने संविधानप्रदत्त अधिकार प्रयोगमा अवरोध सिर्जना गरेको भन्दै नाराबाजी गरेका थिए ।

स्थानीयको विरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय प्रभावित बनेको थियो ।

सर्वसाधरणले महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वयबिना जनतालाई महानगरले दुःख दिने गरेको भन्दै विरोध गरेका थिए ।

महानगरले स्पष्ट नीति नदिएकोले आफूहरु मारमा परेको स्थानीयको भनाइ छ । स्थानीयले महानगरको गाडी नियन्त्रणमा लिएपछि नगरप्रहरीले बल प्रयोग गर्दै सवारी साधन उठाएको थियो ।