यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ
काठमाडौँ – यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरूसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ जना विचौलीया र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने गरेका थिए ।
सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृतीका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको प्रहरीले जनाएको छ । यस किसिमको कुनै पनि जानकारी भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं। ०१(४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत कठमाडौं उपत्यका प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ ।