सत्ता समीकरणमा कुनै रुचि छैन : माधव नेपाल

सोमबार, २५ पौस २०७९

काठमाडौं –  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा सामेल हुने कुनै अभिरुचि नभएको बताएका छन्।

संसद बैठकपछि सोमबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा सामेल नहुने बताएका हुन्। उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालय बैठकले निर्णय गर्ने पनि बताएका छन् ।

सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठक बस्दैछ‚ बैठकले निर्णय गर्छ। सत्ता समीकरणमा जाने हाम्रो रुचि छैन उनले भने,। अहिले हामी के गर्ने भन्ने विषयको छलफलमै छौं। हामी विचार मिल्ने दलहरूसँग छलफल र संवाद गर्दै मिलेसम्म मोर्चासमेत बनाउँछौं। विचार सिद्धान्त सबै मिल्यो भने एकताबद्ध भएर जान सक्छौं।’

अध्यक्ष नेपालले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरूसँग सहकार्य र एकताका लागि छलफल र संवाद खुला राखेको पनि बताएका छन् ।