मधेसको मुख्यमन्त्रीमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त

बुधबार, २७ पौस २०७९

काठमाडौं— मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्तको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उनले बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामअशिष यादवले जानकारी दिए।

मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जना प्रदेशसभा सदस्य छन्।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए। पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ।