कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

आइतबार, १ माघ २०७९

काठमाडौं— नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गर्ने भएको छ । धुम्बाराही स्थित निजि निवासमा बिहीबार बोलाइएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डसँग सम्वाद गर्ने प्रस्ताव ल्याएका थिए ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नयाँ आधार बन्छ भनिएको थियो, ‘अब कसरी अगाडि बढ्ने भनेर प्रचण्डसँग छलफल गर्ने उहाँहरुको प्रस्ताव रह्यो,’ एक पदाधिकारी भन्छन्, ‘यस्तो प्रस्तावमा कसैको पनि बिमति रहेन ।’ प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्नुपर्ने सभापति देउवाको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले थप जोड दिए ।

अरु पदाधिकारीको पनि बिमति नरहेपछि बैठकले प्रचण्डसँग सम्वाद गर्ने जिम्मा सभापति देउवालाई दिएको छ ।

सभापति देउवाकै जोडबलमा २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले फरक मत राखेपनि सभापति देउवाले विश्वासको मत दिने निर्णय गरेका थिए ।

जबकी पछिल्लो १७/१८ महिना कांग्रेस नेतृत्वको गठबन्धनमा रही स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव मिलेर लडेका प्रचण्ड १० पुसमा कांग्रेस गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री भएका छन् । एमालेको समर्थनमा १६९ सांसदको समर्थन पाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो ।

तर गठबन्धन बदल्दै प्रचण्ड प्रधानमन्त्री भएपछि स्तब्ध बनेको कांग्रेसभित्र फेरि सम्बन्ध सुधारको प्रयत्न भयो । विशेषगरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित नेताहरुले माओवादी केन्द्रसँगको सम्वादमा दौपधुप बढाए । कांग्रेसका यी नेताहरुको गृहकार्यलाई माओवादी केन्द्रबाट जनार्दन शर्माहरुको साथ मिल्यो ।

नभन्दै, २५ पुसमा प्रधानमन्त्री प्रचण्ड आफैं देउवा निवास धुम्बाराही पुगे । भोलिपल्टै देउवाले पनि पार्टी कार्यसम्पादन समिति र संसदीय दलबाट विश्वासको मत दिने निर्णय गराए । त्यही विश्वासको मतलाई आधार बनाएर कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे सम्वाद गर्ने निर्णय गरेको हो ।

पार्टीको औपचारिक फोरमबाटै निर्णय भएकाले देउवाले अब प्रचण्डसँग सम्वादको प्रस्ताव अगाडि बढाउनेछन् । किनकि ५ माघमा सभामुख र ७ माघमा उपसभामुखको निर्वाचन निश्चित भइसकेको छ ।

अझ डा. शेखर कोइरालाको अभिव्यक्ति मान्ने हो भने सभामुखको चुनावले देउवा र प्रचण्डबीचको सम्वाद सकिने छैन । ‘म सभामुख, उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ विराटनगर पुगेका कोइरालाले बिहीबार भनेका छन्, ‘‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नु हुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट (विश्वासको मत) हालेका हौं ।’

अर्थात् कांग्रेसले विश्वासको मतको बदला राष्ट्रपति र सभामुखमा बार्गेनिङ गर्ने प्रष्ट संकेत दिनुले संसदको असाधारण विश्वास पाएका प्रधानमन्त्री प्रचण्ड अर्को संकटमा पर्ने देखिएको छ । बुधबार गोरखा पुगेर प्रचण्डले भनेजस्तो विश्वासको मतले ढुक्क हुने स्थिति देखिदैन ।