विमान दुर्घटनामा परि ज्यान गुमाउने हरुको शोकमा सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा
विमान दुर्घटनामा परि ज्यान गुमाउने हरुको शोकमा सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउने हरुको शोकमा सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताका हुन् ।
‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने।
घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उनले बताए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०स्५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।