रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा नियुक्त
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ ।
आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिमा नियुक्त गरेको रास्वपाका एक नेताले जानकारी दिए ।
रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।