भ्रष्ट्राचारीलाई छोडेर आफ्नो कार्यकर्तालाई पक्रेको भन्दै विप्लवको आक्रोश, तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी
फागुन १५, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि सरकारले थालेको धरपकडप्रति आक्रोश पोखेका छन् ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आक्रमण भएको केही दिनपछि प्रेस वक्तव्य जारी गर्दै विप्लवले आफ्ना नेता कार्यकर्तामाथि सरकारबाट भइरहेको धरपकड तत्काल बन्द हुनुपर्ने बताएका हुन् ।
‘एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा सरकाले देशैभरीबाट हाम्रो पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्तामाथि धरपकड तीब्र बनाएको छ’, विप्लवले भनेका छन्, ‘गिरफ्तार गरिएकामाथि भटाभट सार्वजनिक अपराध मुद्दा चलाइँदैछ, संविधानविपरित मानसिक तथा शारीरिक यातना दिएको जानकारी पनि हामीलाई आएको छ ।’
एनसेल प्रकरण र अन्य घटनामा सरकारले पक्राउ गरेका आफ्ना सबै नेता कार्यकर्तालाई रिहा नगरे कडा कदम उठाउने चेतावनी विप्लवले दिएका छन् ।
‘गिरफ्तार गरिएका सबै कार्यकतालाई बिना शर्त रिहा गरियोस,’ विप्लवले वक्तव्यमा भनेका छन्, ‘यदि त्यसो नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ, त्यसबाट निस्कने परिणाण जिम्मेवार स्वयम् यो सत्ता हुनेछ ।’
