लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाबाट कसले न्याय पायो? –ओली

आइतबार, २२ माघ २०७९

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै ओलीले सर्वोच्चको निर्णयलाई आफूहरुले मान्ने तर लामिछानेको नागरिकताले उजुरीकर्तालाई के अन्याय परेको र के न्याय पाए भन्दै प्रश्न गरेका छन् ।

‘उजुरीकर्ता व्यक्तिलाई के मर्का पर्‍यो? के सरोकार के सम्बन्ध हो र के मर्का पर्‍यो । के अन्याय पर्‍यो र न्याय खोजेको हो,’ उनले भने, ‘एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ । यो फैसलाले कसले न्याय पायो?’ उनले अदालतको काम न्याय दिने तर फैसलाबाट कसले न्याय पाएको भन्नेबारे आफूले नबुझेको बताए । उनले प्रश्न गर्दै भने, ‘कसले मर्काबाट उन्मुक्ति पायो । न्याय दिनका लागि अदालत हो । कसले न्याय पायो?’

उनले प्रक्रियागत त्रुटिको आधारमा एउटा व्यक्तिको पद नै गएको बताए । निर्वाचन आयोगले वैधानिक छ भनेर सदर गरेको उम्मेदवार सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले निर्वाचित गरेको व्यक्तिको पद प्रक्रियागत त्रुटिले गएको बताए । ‘रवि लामिछाने ढोका खुला राखेर फुत्त संसद्‌मा पसेका हैनन्,’ उनले भने, ‘उजुरी परेपछि वैधानिक छ भनेर निर्वाचन आयोगले सदर गरेको । सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले छानेको । पद गयो, केले भन्दा एउटा प्रक्रियागत त्रुटिले । पार्टी अध्यक्ष गयो । गृहमन्त्री गयो । उपप्रधानमन्त्री पद गयो । रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो?’

ओलीले अदालतको फैसलालाई आफूहरुले मान्ने बताउँदै रवि लामिछानेसँग आफ्नो न कुनै संगठनात्मक, न नातारसम्बन्ध केही नरहेको भन्दै फैसला भएको शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म उनको नागरिकता के भयो त्यो सम्बन्धमा आफूले नबुझेको बताए ।

‘आइतबार बिहान जारी भएको नागरिकतामा पुरानै मिति छ । यो बिदाको दिनको बीचको प्रक्रिया आइतबार सच्याएर ल्याउ भनेर पुग्थ्यो होला प्रक्रियागत त्रुटिलाई । तर यो फैसलाले कसले न्याय पायो?,’ ओलीले भने ।