नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री बिच भेटवार्ता
काठमाडौं—नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता भएको छ ।
महासचिव विप्लव र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको थियो। भेटवार्ताको क्रममा महासचिव विप्लवले विगतमा सरकार र नेकपा वीच भएको ३ बुदे सहमति कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
सहमति अनुसार नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्ने वारे भएका सहमति र निर्णयहरु अगाडि बढाउन विगतका सरकारले आनाकानी गरेको भन्दै यो सरकारले तदारुकता साथ लिनुपर्ने बताए ।
मुलुकको जटिल र संकटपुर्ण आर्थिक, राजनीतिक परिस्थिति नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकताबारे भेटमा महासचिव विप्लवले कुराकानी गर्नु भएको थियो ।यस्तै प्रधानमन्त्री प्रचण्डले ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्ने बारे राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक भएको बताउनु भयो ।
सरकार र नेकपा वीच ३ बुदे सहमति भएको करिव २ वर्ष पुग्न लाग्दा समेत नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताका नाममा राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु अझै फिर्ता लिइएको छैन भने ३९ जना कार्यकर्ताहरु अझै जेल जीवन बिताइरहेका छ ।