भारतको पुलवामा आतंककारी हमलाप्रति नेपालद्वारा चिन्ता व्यक्त,संयम अपनाउन भारत र पाकिस्तानलाई आग्रह

बुधबार, १५ फाल्गुन २०७५

फागुन १५, काठमाडौं – नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनाव तथा भारतको जम्मू कश्मीरको पुलवामा क्षेत्रमा भएको आतंककारी हमलाप्रति चिन्ता व्यक्त गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

नेपालले पुलवामा क्षेत्रमा हमलापछि तुरुन्तै उक्त घटनाको भर्त्सना गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्कको अध्यक्षका हैसियतले नेपाल दक्षिण एसियामा शान्ति तथा स्थायित्वको महत्वलाई मध्यनजर गर्दै दुवै राष्ट्रलाई हदैसम्मको लचकता अपनाउन र  यस क्षेत्रको शान्तिसुरक्षामा खलल पार्ने कुनै किसिमका गतिविधि नगर्न आग्रह गर्दछ ।’

विज्ञप्तिमा दुवै देशबीच विद्यमान तनाव कम गर्न तथा अवस्थालाई सामान्य बनाउन दुवै देशलाई वार्ता तथा शान्तिपूर्ण उपायका माध्यमबाट समाधान खोज्न आग्रह पनि गरिएको छ ।