प्रधानमन्त्रीले दिए राष्ट्रपति निर्वाचनमा कांग्रेसका नेताहरुलाई सहयोग गर्ने वचन

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेका थिए ।

एक नेताका अनुसार कांग्रेस र माओवादीबीच संस्थागत रुपमा छलफल गर्ने योजना थियो । माओवादीबाट पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेत पनि बैठकमा आउने भनिएको थियो । तर खबर गर्न नभ्याएको भन्दै प्रचण्ड मात्र सहभागी भए ।

स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने बचन मात्र दिएनन्, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको सुनाएका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आइतबार साँझ भएको छलफलमा सरकार कसले कति वर्ष चलाउने भनेर कुनै समझदारी भएको छैन । स्रोतका अनुसार प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान सम्वादमा यसबारे छलफल भएको छ । सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने मोटामाटी समझदारी भएको छ । यद्यपि पछिल्लो समय कांग्रेस नेताहरुले पाँच वर्ष नै सरकारको नेतृत्व प्रचण्डलाई दिन पनि तयार रहेको बताउन थालेका छन् ।

आइतबार साँझ भएको छलफलमा पनि कांग्रेस नेताहरुले सरकारको निरन्तरतामा कुनै चिन्ता नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने सरकारका कामको प्रभावकारीताबारे चासो व्यक्त गरेका थिए । सरकारको पफर्मेन्स राम्रो हुन सकेन भने सरकारको नेतृत्व गर्नुको अर्थ नहुने उनको तर्क थियो ।