भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दुई इञ्जिनियर पक्राउ

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नबनाएको सडक बनाएको र रकम लिएर भ्रष्टाचार गरेको भन्दै दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविन कुमार विसीमाथि मुद्दा दायर गरेको छ ।

उनीहरुले आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५५ को दफा १९ को उपदफा ९२० बमोजिम कसूर गरेको अख्तियारको दाबी छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६र०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं। ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरुले हिनामिना गरेको अख्तियारको दाबी छ ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (२) बमोजिमको सजाय मागदाबी गरेको छ । यो दफामा कुनै राष्ट्रसेवकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफत गरिने उल्लेख छ ।