आयोगको धारणा के हो?

शुक्रबार, २६ फाल्गुन २०७९

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियालाई फोन गरेर उपराष्ट्रपतिबारे आयोगको धारणा सोधेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपति फरक लिङ्गबाट हुनुपर्ने बहस भइरहेका बेला कांग्रेस नेता लेखकले शुक्रबार प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेर यसबारे आयोगको धारणा बुझेका हुन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको ८ दलीय कार्यदलको बैठकमा उपराष्ट्रपतिबारे छलफल भइरहेका बेला नेता लेखकले थपलियासँग यसबारे जिज्ञासा राखेका थिए।

आफूले प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेर उपराष्ट्रपतिबारे आयोगको धारणा बुझेको नेता लेखकले सेतोपाटीलाई बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले उपराष्ट्रपति फरक लिङ्गबाट हुनुपर्ने आयोगको धारणा रहेको जवाफ दिएका छन्।

‘उहाँको कुराअनुसार महिला हुनुपर्छ भन्ने खालको थियो,’ लेखकले भने, ‘महिला नै हुनुपर्छ भनेर निर्वाचन आयोगले भन्नु भनेको संविधानबमोजिम हुँदैन भनेर मैले भनेको छु। किनभने संविधानले फरक लिङ्ग वा समुदाय भनेको छ।’

राष्ट्रपति र उपराष्ट्रपति लिङ्ग वा समुदायमध्ये एक फरक भए हुने लेखक बताउँछन्। यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। त्यसका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। ८ दलीय कार्यदलले भने शीर्ष नेताहरूसँग यसबारे छलफल गरी सहमति खोज्ने तयारी गरेका छन्।