बैशाख १० का लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने

सोमबार, २० चैत्र २०७९

काठमाडौं – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने  भएको हो ।

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ(आफ्नो उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन(२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ(१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा(२ रिक्त हुन पुगेको थियो । बारा(२ मा जनता समाजवादी पार्टी नेपालले जीत हासिल गरेको थियो । रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुदै छ ।