बैंकबाट ऋण लिने अनि तिर्दिन भन्दै हिड्नेलाई कुनैपनि हालतमा छोड्न हुँदैन: प्रचण्ड
काठमडाौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई कुनैपनि हालतमा छोड्न नहुने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई अराजकको संज्ञा दिंदै त्यस्तो प्रवृत्तिलाई कुनैपनि हालतमा छोड्न नहुने बताएका हुन् ।
यस्तो कुरामा बैंकबाट ऋण लिने अनि तिर्दीन भन्दै हुलहुज्जत गर्ने यस्तो सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताए । अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको उनले बताए ।
‘अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ ।’
बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच रहेको उनले बताए । ‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं’ उनले भने ।