निगमका कार्यकारी निर्देशकसंग पर्यटनमन्त्रीले मागे ५ बुँदे स्पष्टीकरण

सोमबार, २७ चैत्र २०७९

काठमाडौं –  संस्कृति तथा नागरिक उड्ययन मन्त्री  सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकलाई पाँच बुँदे स्पष्टीकरण सोधेका  छन् ।

निगमले काठमाडौंदेखि क्वालालम्पुरमा चार्टर उडान गरेको लिखित सोधपुछको जवाफ निगमले १९ गते पठाएकोमा अझै पनि केही विषयहरु स्पष्ट नभएको भन्दै तीन दिनभित्र जवाफ दिन आज पत्र पठाएर स्पष्टीकरण सोधेका हुन् ।

मन्त्रालयले यसअघि गत चैत १५ गते निगमले काठमाडौंदेखि क्वालालम्पुरमा चार्टर उडान गरेको विषयमा लिखित सोधपुछ गरेको थियो ।

पहिलो बुँदामा चार्टर फ्लाइटबाट निगमलाई आर्थिकभार कति पर्यो भन्ने स्पष्ट पार्न भनिएको छ । दोस्रो बुँदा निगमको हवाइजहाज दिल्लीमा पाङ्ग्रा बिग्रेर ग्राउन्डेड भएको सम्वन्धमा छ । मन्त्रालयले सोधेको छ( पाङ्ग्रालगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

मन्त्रालयले काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलई भएको जानकारी प्राप्त भएको जनाएको छ । ‘पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई केकति आर्थिक भार पर्न गयो ?’ पत्रमा सोधिएको छ ।

चौंथो बुँदामा एयरपोर्टबाट सामान हराइरहने समस्या नियन्त्रण गर्ने कार्ययोजना के छ भनि सोधिएको छ । यस्तै पाँचौंमा पर्यटन मन्त्रालयमा सुदन किराँतीले पद बहाली गरेपश्चात निगमको टुइनेटर जमाज कतिपटक ग्राउन्डेड भयो भनि सोधिएको छ ।