श्रमिक समुदायलाई सत्ताको मालिक बनाउन दलाल सत्ताको विरुद्धमा समाजवादी व्यवस्था ल्याउनु पर्छ: विकल्प सी

श्रमिक समुदाय क्रान्तिको हीरा हुन् समाजवाद आएपछि टल्किनछन्।

मंगलबार, २८ चैत्र २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवंम पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले श्रमिक समुदायलाई सत्ताको मालिक बनाउन दलाल सत्ताको विरुद्धमा समाजवादी व्यवस्था ल्याउनुपर्ने बताएका छन् । परिवर्तित सन्दर्भमा देशकै पर्यटकीय केन्द्र काभ्रेको धुलिखेलमा सम्पन्न श्रमिक समुदायको अवस्था र दायित्वबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै विकल्प सीले श्रमिक समुदायलाई सत्ताको मालिक बनाउन दलाल सत्ताको विरुद्धमा समाजवादी व्यवस्था ल्याउनुपर्ने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा  प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न काभ्रे पुगेका नेता विकल्पले श्रमिक समुदाय क्रान्तिको हीरा भएको बताए। उनले श्रमिक समुदाय समाजवाद आएपछि टल्किने र टल्काउनु पर्ने बताए । उनले भने, ‘श्रमिक समुदायको सबै अधिकार समाजवादी व्यवस्था नभई पाउदैन, उसको राजनीति, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य र रोजगारको पूर्ण अधिकार प्राप्त गर्ने भनेकै समाजवादी व्यवस्था हो ।

त्यसकारण समाजवादी व्यवस्था ल्याउने प्रमुख दायित्व पुरा गर्न एकीकृत जनक्रान्तिमा निसर्त संगठित हुनु हो र संघर्षमा हाम फाल्नु हो ।’
अहिलेसम्मको मानव विकास र विश्व ईतिहासलाई वैज्ञानिक दृष्टिकोणको आधारमा बुझ्न र यसको गतिशील नियमलाई प्रयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकृति विज्ञान र समाज विज्ञानमा यो लगातार रुपमा प्रयोग हुँदै आएको छ । उदाहरणको रुपमा जीव विज्ञान र भौतिक विज्ञानका आविष्कारहरू एवं प्रकृति विज्ञानमा भइरहेका नयाँ नयाँ खोज र अनुसन्धानहरु यसैको उपज भएको बताए । त्यसैले वैज्ञानिक दृष्टिकोण र सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताउँदै ब्रम्हाण्डको उत्पत्ति र मानव विकास क्रमका प्रशस्तै उदाहरण सहित वैज्ञानिक व्याख्या गरेर आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

नेता विकल्प सी ले सामन्तवादले विशेषगरी दक्षिण एसियामा राज्यसत्ताकै बलद्वारा श्रमिक समुदायका सम्पूर्ण अधिकारहरु छिनेर समाजको सबैभन्दा पिँधमा पुर्याएको बताए । श्रमिक समुदाय नै इतिहासको रक्षाकबज भएतापनि अन्य उत्पीडितहरु जस्तै सामन्तवाद र पुँजीवादमा उनीहरुले आफ्नो पूर्ण अधिकार कहिल्यै नपाउने समेत बताए । उनले भने, ‘हाम्रो उदेश्य भनेको समाजवादी क्रान्ति पूरा गर्नु हो । सत्ता बाहेक सबै कुरा भ्रम हो भने जस्तै श्रमिक समुदायलाई सत्ताको मालिक बनाउनु भनेको दलाल सत्ताको विरुद्धमा संघर्ष गरेर समाजवादी व्यवस्था ल्याउनु हो । त्यसैले अब हामी नयाँ शिराबाट जानुपर्दछ, पुरानो तरिकाबाट हुँदैन र पुगेन नयाँ तरिका भनेको लड्ने मात्र होइन, हाम्रो दृष्टिकोण, विचार, कार्यक्रम, योजना र संघर्षमा पनि नयाँ चाहियो । पुरानो तरिकाले भएन, मौलिक र वैज्ञानिक तरिकाले गर्नु पर्यो अनि मात्र नयाँ समाज बनाउन सक्छौँ । त्यसको लागि नयाँ अनुसन्धान र प्रयोग गर्नु पर्यो ।’

उनले थपे, ‘आज जति पनि पुराना र रुढीवादी विचारधारा छन् ती सबैले श्रमिक समुदायको पूर्ण मुक्तिको बाटो छेक्यो । त्यसलाई सही विचार र दृष्टिकोणले तोड्नु पर्दछ । आज व्यापक गुलियो विषादी भ्रमले श्रमिक समुदायलाई लपेट्न खोजिरहेको छ, त्यसबाट बचाउनु पर्छ । त्यो संघर्षमा श्रमिकहरूलाई अपराजेय शस्त्र मालेमावाद र आम जनताको एकतामा एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादमा पुर्‍याउनुपर्छ । आज श्रमिक समुदाय व्यवहारिक रुपले बाच्न नसक्ने अवस्थामा पुगेको छ, राजनीतिरुपले सबै अधिकारबाट बञ्चित छ । सांस्कृतिक रुपले पुरै वेदनामा डुबेको छ र संघर्षको रुपमा पुरै दबाइएको अवस्था छ । अब हाम्रो दायित्व भनेको नेपालको श्रमिकहरुलाई एउटा नयाँ चेतनामा जागरणमा उठाएर सबै समस्याहरुलाई मिचेर एक पटक एउटा मिसाइलको रुपमा आन्दोलन उठान गर्नु पर्ने दायित्व छ, हामी गर्न सक्छौँ ।’

उनले भने, निकै मेहनतका साथ तयार गरेर अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको अवधारणापत्र राजनैतिक, आर्थिक, सामाजिक एवं पर्यावरणीय र सांस्कृतिक सिद्धान्त र व्यवहारको दुबै आखाँले नयाँ अनुसन्धान सुरु भएको छ । श्रमिक समुदायको आजको यथार्थपरक व्यवहारिक स्थितिलाई अवधारणामा जीवन्त उतारेर अग्रगामी एवम् सही निष्कर्ष निकालेको बताए । र, केन्द्रीय श्रमिक विभागलाई धन्यवाद प्रदान गरिएको थियो ।

श्रमिक समुदाय केन्द्रीय विभागका सदस्य तथा पार्टीका केन्द्रिय सदस्य सन्जीब सी ले संचालन गरेको उक्त कार्यक्रम विभागका इन्चार्ज सन्तोषी सी को अध्यक्षतामा भएको हो । सो अन्तरक्रियामा विभागका सदस्य डिल्ली सी ले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका संचालक सन्जीव सी ले उक्त कार्यक्रमको उद्देश्य, लक्ष्य र योजनाका बारेमा प्रष्ट पारेका थिए । विभागले ऐतिहासिक रुपमा पछि परेको श्रमिक समुदायलाई राज्यसत्ताको मालिक बनाउने तहसम्मका कार्यक्रमहरूलाई नयाँ ढंगले अनुसन्धान गरिरहेको बताए । यो नयाँ मानवजाति बनाउने तर्फ अघि बढेको छ, उनले भने । अर्का सदस्य डिल्ली सी ले अवधारणा पत्र प्रस्तुतिको अतिरिक्त कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए ।