विद्यार्थीहरुलाई खुसीको खबर, अब हरेक शुक्रबार बिनाकिताब विद्यालय जान पाइने

सोमबार, ४ बैशाख २०८०

काठमाण्डौँ— काठमाडौं महानगरपालिकाका बालबालिकाले अब हरेक शुक्रबार बिनाकिताब विद्यालय जान पाउने भएका छन् ।

काठमाडौं महानगर शिक्षा विभागका शिक्षा अधिकृत रामप्रसाद सुवेदीले काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने जानकारी दिए । सामान्यतया शुक्रबार चार विषय पढाइ हुन्छ त्यसपछि कतिपय विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने कतिपयमा नभएपछि बालबालिका घर जाने गरेका छन् । तर अब शुक्रबार चारै विषय जीवन उपयोगी सीप सिकाउने, बुझाउने, सहभागी गराउने क्रियाकलाप गराइने शिक्षा अधिकृत सुवेदीले बताए ।

बिहानको समयमा पाठ्यक्रम अनुसारको क्रियाकलापहरु गराउने जस्तो नेपाली भए भने कविता वाचन गराउने, गीत गाउन लगाउने, अंग्रेजीको भए हिज्जे गर्न लगाउने, भाषण गर्न लगाउने, सामाजिक विषय भए सम्मान पूर्वक व्यवहार गर्न सिकाउनेलगायतका विद्यालय तथा शिक्षकले कक्षा अनुसार दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउनुपर्नेछ । बालबालिकालाई कपडा पट्याउन, नङ काट्न, कपाल कोर्न, टाकरबटम लगाउन, उध्रिएको कपडा सिलाउन, बारीमा कोदालो खन्ने, विरुवा उमार्ने, घाँस काट्ने, गाइ गोठको स्थलगत जानकारी दिने, खाना पकाउने जस्ता क्रियाकलाप गराउनुपर्नेछ । विद्यालयले विद्यार्थीलाई ५० भन्दा बढी दैनिक जीवनमा उपयोगी हुने सामान्य सीपहरु, क्रियाकलापहरु सिकाउनुपर्ने तालिका बनाएर दिनु पर्ने तयारी भइरहेको शिक्षा विभागले महानगरले जनाएको छ ।

शिक्षा अधिकृत सुवेदीले भने, ‘यो मेयर ज्यूको परिकल्पना अनुसार गर्न खोजिएको हो । विद्यालय तह पार गरेर कुनै पनि ठाउँमा जाँदा आफ्नो लागि आफै गर्न सक्ने सामान्य सीपको विकास होस् भन्नको लागि यस्तो गर्न लागिएको हो ।’ विद्यार्थीले केही लेखेर राख्न चाहे विद्यालयले नै पेन्सिल र कपी दिने र त्यहि राख्नुपर्ने गरी व्यवस्था हुनेछ । दिउँसो एक बजेदेखि ४ बजेसम्म सँधै झै सबै बालबालिका सहभागी हुने गरी अतिरिक्त क्रियाकलाप गराउनुपर्ने नाचगान, खेलकुद जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्नेछ ।