पाँच बुदे माग राख्दै किसानले शुरु गरे आमरण अनसन
काठमाडौँ— नेपाल कृषि प्रधान देश हो । तर सरकारले यस क्षेत्रलाई उपेक्षित गर्दै आइरहेको छ । हजारौं कृषकहरुका कृर्षि फार्महरु खाली देखिन थालेका छन् भने सयौं कृषकहरु वैदेशिक रोजगारीका लागि बाटो तताउदै छन् ।
सरकारले कृषिमा दिएको अनुदान पर्याप्त नहुनु, अनुदान पनि बिचौलियाको हातमा पर्नु, बैंकले कृषि उत्पादनमा पर्याप्त लगानी नगर्नु लगायतका कारणले कृषकहरु पलायन हुने अवस्थामा पुगेका छन् । त्यस मध्येका एक हुन नुवाकोट ककनीका कृषक श्रीराम पौडेल ।
कालिज र कुखुरा पालन गर्दै आएका पौडेल आर्थिक मन्दी, सरकारी नितिको अभाव, बजार बिचौलियाको कबजामा हुनु लगाएतको कारण पलायन हुन पर्ने अवस्था सिर्जना भएपछि उनले आमरण नसन सुरु गरेका छन्। नुवाकोटको ककनीबाट पैदल यात्रा गर्दै काठमाडौं आएका पौडेल बसन्तपुरमा अनसन बसेका हुन् ।
उनले विभिन्न पाँच बुदे माग राख्दै मंगलबार देखि रिले अनसन सुरु गरेका छन् । उनले कृषिमा कुल बजेटको १० प्रतिशत बजेट छुट्याउनुपर्ने, ५० लाखसम्मको प्रोजेक्ट राखेर व्यवसायीक कृषि कर्जा उपलब्ध गराउनुपर्ने, कृषक कार्डको व्यवस्था गरि सार्वजनिक यातायातमा पचास प्रतिशत छुट दिनुपर्ने , कृषकलाई मल विरुवा र औजारमा अनुदान दिनुपर्ने र वित्तीय संकट समाधानका लागि बैंकिङ ब्याज ६ प्रतिशत कायम गनुपर्ने माग राखेका छन् ।