मौन अवधि लागू, अब के के गर्न पाइँदैन?
काठमाडौं— यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि निर्वाचन सम्बन्धि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गरिएको छ।
प्रतिनिधिसभा सदस्य चुन्न बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मौन अवधि लागू गरिएको हो। उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मका लागि प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ। उक्त व्यवस्थाबमोजिम वैशाख ७ गते राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन्।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै प्रकारका प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न पनि निषेध गरिएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्नरनगराउन आयोगले सचेत गराएको छ।