मविरुद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाइएः बादल पुत्र
काठमाडौं— पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आफूविरुद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाएको दाबी गरेका छन् ।
बिहीबार एक विज्ञप्तिमार्फत प्रतीकले भनेका छन्, ‘मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो? भन्ने कुरा बुझ्न जरुरी छ । हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ ।’
उनले आफ्नो बुबा गृहमन्त्री भएको बेलामा जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेको उल्लेख गरेका छन् । उनले थपेका छन्, ‘मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन । मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु ।’