गणतन्त्र दिवसमा रेशम चौधरी छुट्ने

बिहिबार, २८ बैशाख २०८०

काठमाडौं – डिल्लीबजार कारागारमा रहेका पूर्वसांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटाउन सरकारले विधेयक ल्याउने तयारी गरेको छ।

स्रोतका अनुसार आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई छुटाउन सत्ता गठबन्धनमा छलफल भएसँगै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक दर्ता गरेको बुझिएको छ। विधेयकमा चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको स्रोतको भनाइ। स्रोतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको हो । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

उक्त संशोधित बुँदामा भनिएको ‘कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौताबमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकारवादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन ।’