प्रधानमन्त्री र अष्ट्रेलियाली सहायक विदेश मन्त्री वाट्सबिच भेटवार्ता
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबिच भेटवार्ता भएका छन्।
प्रधानमन्त्रीको सचिवालयको अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए ।प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो। मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाएका छन्।