शरणार्थी प्रकरणको अनुसन्धान नसकिएको भन्दै प्रहरीद्वारा आज प्रतिवेदन नबुझाउने निर्णय
काठमाडौं— नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको बताएका हुन् । उनले भने, अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौं, छिट्टै बुझाउने प्रयासमा छौं ।
प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एकसाता अघि बुधबार प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।