राष्ट्रपतिले मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको राप्रपाको आरोप
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिले मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक अवरोध गर्न उत्रिएका लिङदेनले सो आरोप लगाएका हुन् । “राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, हुन सक्दैन,” उनले भने, “सिद्धान्तमा हामीले जतिसुकै निष्पक्ष र अभिभावक भने पनि दलको निर्देशनमा चल्छ भनेका थियौँ, अहिले त्यही भयो ।”
उनले यत्रो दिन किन नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन र अहिले भारत भ्रमणको मुखमा गर्नुप¥यो भन्दै प्रश्न गरे । “बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजाराँ नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन,” लिङदेनले भने, “जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ ।”