शरणार्थी प्रकरणमा अदालतबाट १० दिन पछि मात्रै आदेश आउने

आइतबार, २१ जेष्ठ २०८०

काठमाडौं— जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) मात्रै आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् । शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

‘त्यो दिन चिया समयअघि तपाईंहरुले बहस सकिदिनुहोस्’ दुवै पक्षलाई उनले भने, ‘चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला । त्यही दिन बेलुकासम्म आदेश दिनेछु ।’ अहिले सरकारी वकिलहरुले आरोपको पक्षमा बहस शुरु गरेका छन् ।