सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छः प्रधानमन्त्री

बुधबार, ३१ जेष्ठ २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । ‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन्,’ उनले भने।

प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरु एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए। उनले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे। उनले अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्था आफूहरु बलियो बनेको बताए।  प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारले भोग्नुपरेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।