महानगरद्वारा भृकुटीमण्डपमा अनधिकृत रुपमा संचालित हिसान मेला हटाइयो

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौं— काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलाका हटाएको छ।

महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेको अनुसार प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भएकाले महानगरले मेलामा राखिएका स्टलहरु हटाएको हो । ‘नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोकेका छौं, अब स्टल बन्द भएको छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने।

एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ। नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ। कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन्। मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। स्मरण रहोस् यो मेलाको उदघाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।