अमेरिकी सहायक विदेशमन्त्री लुले र परराष्ट्रमन्त्रीबिच भेटवार्ता

शुक्रबार, २९ असार २०८०

काठमाडौं— अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ । भेटमा उनीहरु बिच अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयको अनुसार उनीहरु बिच सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा पनि छलफल भयो । परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे । दुई देशबीचको लामो मित्रवत सम्बन्धको परिपेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो ।