राप्रपाद्वारा आफ्नो केन्द्रीय कार्यालय खाली गराउन महानगरसँग ३५ दिन समय माग

सोमबार, १५ साउन २०८०

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो । राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले भने, ‘हामीले भवन खाली नगर्ने भनेका छैनौं । तर, कानूनअनुसार सूचना जारी गरेको मितिले ३५ दिन समय चाहिन्छ भन्ने हाम्रो माग हो ।’

महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताउँछन् । गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

‘पब्लिकले हाइटेन्सनमुनि घर बनाउनै नपाउने, तर राजनीतिक दलले छुट पाउने कुरा कुनै पनि लजिकले मिल्दैन । नक्सापास बिना त्यहाँ घर बनाउन पाउने कुनै आधार नै छैन । विद्युत प्राधिकरणले त यो घर एक सेकेन्ड पनि रहन दिनुहुँदैन भनेको छ । पानी परेको बेला मान्छे छतमा गएको बेला मर्ने सम्भावना हुँदो रहेछ,’ उनले भने ।

उनले घर भत्काउनुपर्ने विषयमा राप्रपाका नेताहरु पनि सहमतिमा आएको बताए । ‘उहाँहरुले हामीलाई खाली गर्न मौका दिनुपर्यो भन्नुभएको छ । तर, हामीले असोजमा नै माइकिङ गरेका हौं । त्यो बेलामा पनि यही कुरा भन्नुभएको थियो । त्यसैले हामीले समयमा सुचना पाएनौं भन्न मिल्दैन’, उनले भने ।

महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन । अधिकारी भने गोरखापत्रमा तीन महिना अगाडि सार्वजनिक सूचना जारी गरिएकाले लिखित पत्र दिइरहनु नपर्ने बताउँछन् । ‘अहिले पनि सामान सार्न एक हप्ता(दश दिन समय माग्नु हुन्छ भने सोच्न सकिन्छ भनेका छौं’, उनले भने ।