प्रदेश प्रमुखले संविधान मिचेकोमा दुःख व्यक्त गर्दै हिक्मतले दिए उद्धव थापालाई बधाई
काठमाडौं – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुखले संविधान मिचेकोमा दुःख व्यक्त गर्दै नवनियुक्त मुख्य मन्त्रीलाई बधाई दिएका छन्। कार्कीले बिहीबार प्रेस विज्ञप्ति मार्फत संविधान मिचेकोमा दुःख व्यक्त गर्दै उद्धव थापा नेतृत्वको सरकारलाई बधाई दिएका हुन्।
कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको बताए । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत खर्चतर्फ करिब ८५ प्रतिशतको प्रगति हासिल भएको दाबी गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सभामा उपस्थित एउटा बाहेक सबै दलहरूको समर्थनमा प्रदेशको नामकरण गर्न सकिएको बताएका छन् ।
कार्कीले प्रदेश संरचनाबारे जनतामा रहेको नकारात्मक भ्रम चिर्नका लागि प्रदेशका मन्त्रालय १३ बाट घटाएर आफूले ९ मा सीमित गरेकोले जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।
उनले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेको दुःख व्यक्त गर्दै उद्धव थापाको नेतृत्वमा पछिल्लो पटक बनेको सरकारलाई बधाई दिएका छन् ।
उनले आफ्नो पालामा सरकार सञ्चालनमा सघाउने सबैलाई धन्यवाद समेत दिएका छन् ।
